देवचुलीमा ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा ट्र्याक्टरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ।
मृत्यु हुनेमा डडेलधुराको अजयमेरु गाउँपालिका–१ का २४ वर्षीय लोकेश भण्डारी रहेका छन्। उनी काठमाडौंस्थित प्रहरी वृत्त सामाखुसीमा कार्यरत प्रहरी जवान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको लु ३ त ३६३३ नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो।
ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका भण्डारीलाई प्रहरीले तत्काल उद्धार गरी डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याएको थियो। तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।
दुर्घटनामा संलग्न ट्र्याक्टर र त्यसका चालक कावासोती नगरपालिका–१३ का ३२ वर्षीय लोकबहादुर महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।