प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाउन पोखरामा बजार अनुगमन, ६ हजारभन्दा बढीका सामग्री नष्ट
पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमालाको प्रयोग निरुत्साहित गर्दै प्राकृतिक फूलमालाको प्रयोग बढाउन बजार अनुगमन तीव्र बनाएको छ ।
महानगरले पोखरा–१ र २ का विन्ध्यवासिनी तथा बगर क्षेत्रमा रहेका नौ वटा पूजा सामग्री र झिलिङ्गा पसलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा ६ हजार २८० रुपैयाँ बराबरका प्लास्टिकका माला, फूल तथा बेकरी सजावटका सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको महानगरले जनाएको छ ।
अनुगमनका क्रममा लेबल उल्लेख नभएका भाइमसला र रङ प्रयोग गरिएका झिलिङ्गासमेत बिक्रीका लागि राखिएको पाइएको थियो ।
महानगरपालिकाका अनुसार प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारणमा प्रतिबन्ध रहेकाले त्यस्ता सामग्री बिक्री नगर्न व्यवसायीलाई सचेत गराइएको छ ।
महानगरले वातावरण संरक्षण, उपभोक्ता हित र स्थानीय फूल उत्पादक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।