कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्कीमा
परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) को ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीको आन्ताल्या पुगेका छन् ।
नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउनेछन् ।
सम्मेलनका क्रममा खनालले नेपालसहित ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने हिमाली क्षेत्र, हिमनदी तथा जलवायु उत्थानशीलतासम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् ।
त्यस्तै, उनले विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागी हुनुका साथै अन्य देशका समकक्षी मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कनेछन् ।