सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदन
सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।
सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो ।
उनीहरूमाथि शुक्रबार र शनिबार समितिमा संसदीय सुनुवाइ गरिएको थियो । सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुका साथै सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।
यसअघि न्याय परिषद्ले उनीहरू चारै जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । समितिबाट नाम अनुमोदन भएसँगै उनीहरूको नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।