कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल टर्किए प्रस्थान
परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्किए प्रस्थान गरेका छन् ।
टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, उनले नोभेम्बर ११ र १२ मा हुने नेताहरूको शिखर सम्मेलनमा पनि सहभागिता जनाउनेछन् ।
सम्मेलनका क्रममा मन्त्री खनालले नेपालसहित ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने हिमाली क्षेत्रको जलवायु जोखिम, हिमनदी संरक्षण तथा दिगो वित्तीय व्यवस्थापनसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् ।
यसका साथै उनले विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागी हुनुका साथै अन्य देशका समकक्षी मन्त्री र विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्राडा सञ्जय आचार्य र कृषि मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसहित नौ जना सरकारी अधिकारी सहभागी छन् । परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।