काग तिहारमा कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
कार्तिक कृष्ण त्रयोदशी अर्थात् काग तिहारका अवसरमा काठमाडौँका विभिन्न कागेश्वरी मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
कागेश्वरी महादेव मन्दिरमा २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति दर्शन तथा पूजा गर्न भक्तजनको घुइँचो लागेको हो । मन्दिरमाथिको सहिद उद्यानमा एक हजार किलोको कागको मूर्ति पनि रहेको छ, जसलाई विश्वकै ठूलो कागको मूर्ति भएको जनाइएको छ ।
धार्मिक विश्वासअनुसार काग तिहारका दिन कागलाई मीठा खानेकुरा खुवाएर पूजा गर्दा शुभ हुने मान्यता छ । यस अवसरमा घरघरमा पनि कागलाई खानेकुरा दिएर सम्मान गर्ने परम्परा छ ।