गोप्य तस्बिर र भिडियो सार्वजनिक गरी महिलाको चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राउ
प्रेम सम्बन्धका क्रममा खिचिएका गोप्य तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले इलामको माई नगरपालिका–१ स्थायी घर भएका २९ वर्षीय विकल्प राईलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार राईले एक महिलासँग प्रेम सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा भिडियो सामाजिक सञ्जाल टेलिग्राममार्फत सार्वजनिक गरेका थिए। पीडित महिलाले दिएको उजुरीका आधारमा प्राविधिक अनुसन्धान तथा विश्लेषण गरी ब्युरोको टोलीले उनलाई कात्तिक १९ गते काठमाडौंको ठमेलस्थित पर्यटन मार्गबाट पक्राउ गरेको हो।
यसैगरी, सामाजिक सञ्जाल एक्स (साबिक ट्विटर) मार्फत अश्लील तस्बिर तथा भिडियो सार्वजनिक गरिदिने धम्की दिएको आरोपमा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ स्थायी घर भएका ३० वर्षीय सुजन पाण्डे रहेका छन्। ब्युरोको टोलीले उनलाई पनि कात्तिक १९ गते काठमाडौंको तारकेश्वरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पाण्डेले आफूसँग पीडित महिलाका अश्लील तस्बिर तथा भिडियो रहेको भन्दै सार्वजनिक गरिदिने धम्की दिने गरेको अनुसन्धानबाट खुलेको छ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको छ।
अदालतले अनुसन्धानका लागि विकल्प राईलाई पाँच दिन र सुजन पाण्डेलाई चार दिनको म्याद दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले शुक्रबार जनाएको छ।