सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो।
सुदूरपश्चिमले सुरुवातदेखि नै आक्रामक ब्याटिङ गरेको थियो। टोलीले पाँच ओभरमै ५० रन पूरा गरेको थियो भने पावरप्लेमा बिना विकेटको क्षति ६३ रन जोडेको थियो।
ओपनर विनोद भण्डारी र सैफ जैबले टोलीलाई उत्कृष्ट सुरुवात दिलाए। तर, भण्डारी २७ रनमा रनआउट भए भने जैबलाई कर्णालीका सूर्य तामाङले ३५ रनमा आउट गरे।
दुई ओपनर आउट भएपछि सुदूरपश्चिमको रनगति केही सुस्त बनेको थियो। कप्तान दीपेन्द्रसिंह ऐरी पनि रनआउट भए। उनले १४ बलमा १० रन बनाए। ऐरी आउट हुँदा सुदूरपश्चिम ११.४ ओभरमा ३ विकेट गुमाएर ९५ रनको अवस्थामा थियो।
ब्रेन्डन म्याकमुलनले १६ बलमा २४ रन बनाए भने ईशान पाण्डेले २३ रनको योगदान दिए। पाण्डेले १५औँ ओभरमा जीवनदान पाएका थिए। डेभिड मिलरले उनको क्याच छुटाएका थिए। तर, पछि मिलरले नै पाण्डेको उत्कृष्ट क्याच लिए।
त्यसपछि सातौँ नम्बरमा आएका थारिन्दु रत्नायकेले आक्रामक ब्याटिङ गर्दै टोलीको योगफल उकासे। उनी २२ रनमा अविजित रहे। स्कट कुग्लाइनले पनि नटआउट १३ रन बनाए।
बलिङतर्फ कर्णालीका मार्क वाटले सर्वाधिक दुई विकेट लिए। नन्दन यादव, सूर्य तामाङ र हुसेन तलातले एक–एक विकेट हात पारे। अब कर्णाली याक्सले जितका लागि १७७ रन बनाउनुपर्नेछ।