राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालबीच आज भेटवार्ता भएको छ। राष्ट्रपति भवनमा भएको भेटमा संसद्को आगामी अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
भेटका क्रममा राष्ट्रपति पौडेलले संसद्मा जति धेरै बहस र छलफल हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुने बताएका थिए। संसद्मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उनको भनाइ थियो। उनले सरकारले गरेका कामकारबाहीका विषयमा समेत चासो राखेका थिए।
जवाफमा सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलबाट संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी गराएका थिए।
सो अवसरमा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।
त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि सभामुखले जानकारी गराएका थिए।
सभामुख अर्यालले सातवटै प्रदेशका सभामुख तथा उपसभामुखसहित प्रदेशसभाका पदाधिकारीहरूसँग राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे समेत राष्ट्रपति पौडेललाई अवगत गराएका थिए।