सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा आगलागी
सिन्धुलीको भिमानमा ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा भएको आगलागीबाट ट्रकमा लोड गरिएको करिब ८० प्रतिशत सामान जलेर नष्ट भएको छ। शुक्रबार भएको दुर्घटनामा स्कुटरमा सवार दुई जना घाइते भएका छन्।
काठमाडौँबाट कृष्ण ट्रान्सपोर्टको सामान बोकेर इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२–ख १२३६ नम्बरको ट्रक र स्कुटर एकआपसमा ठोक्किएका थिए। ठक्करपछि ट्रकमा एक्कासि आगलागी भएको थियो।
दुर्घटनामा स्कुटरमा सवार हेमराज बख्रेल र सृजना अधिकारी घाइते भएका छन्। जिल्ला अस्पताल सिन्धुलीका अनुसार घाइते बख्रेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनको सोही अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। अर्की घाइते अधिकारीलाई भने थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ।
यसैबीच, सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन्। दुर्घटनाको खबर प्राप्त हुनासाथ उनले सम्बन्धित निकायसँग घटनाबारे जानकारी लिँदै आवश्यक छानबिन गरी प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाउन स्थानीय इलाका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन्।
सभापति गजुरेलले जिल्ला अस्पतालका प्रमुखसँग सम्पर्क गरी घाइतेहरूको स्वास्थ्य अवस्था र उपचार व्यवस्थापनबारे समेत जानकारी लिएका थिए।
उनले घाइते दुवै जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन, घाइतेको उचित उपचार तथा कानुनी प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।