नेप्सेमा सामान्य सुधार, परिसूचक २.६४ अंकले बढ्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार आएको छ। दिनभर उतारचढाव देखिएको सेयर बजार अन्तिम समयमा सम्हालिँदै २.६४ अंकले बढेर २६५५.२२ बिन्दुमा बन्द भएको हो।
कारोबारको मध्याह्नतिर नेप्से परिसूचक २६६२ बिन्दुसम्म पुगेको थियो। त्यसपछि केही ओरालो लागेको बजार अन्तिम समयमा पुनः सुधारिँदै हरियो भएर बन्द भएको हो।
आज बजारमा कुल ३३६ वटा स्क्रिप्सको कारोबार भएको छ। दिनभर ३३ हजार २१५ वटा कारोबारमार्फत एक करोड सात लाख कित्ता सेयर खरिदबिक्री हुँदा कुल तीन अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेयर मूल्य बढ्ने कम्पनीको संख्या घट्नेको भन्दा बढी रहेको छ। कुल १५८ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ। उपसमूहतर्फ अधिकांश समूहमा सुधार देखिएको छ। अन्य समूहमा भने सामान्य गिरावट आएको छ।
आज सर्वाधिक कमाउने कम्पनीको सूचीमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीको सेयर मूल्य १४.०८ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार १९२ रुपैयाँ पुगेको छ। अन्य कम्पनीको सेयर मूल्यमा भने एकल अंकको उतारचढाव देखिएको छ।
कारोबार रकमका आधारमा घोराही सिमेन्ट अग्रस्थानमा रहेको छ। कम्पनीको २१ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।