झापाको चिया बगानबाट ५५७ केजी गाँजा बरामद
प्रहरीले झापाको चिया बगानबाट ५५७ केजी अवैध गाँजा बरामद गरेको छ। जिल्लाको मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकमा रहेको चिया बगानबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो।
प्रहरीका अनुसार शुक्रबार बिहान स्थानीय टेकेन्द्र थापाको निजी चिया बगानमा १३ पोका गाँजा फेला परेको थियो। बरामद गाँजाको प्लास्टिकसहित तौल गर्दा ५६२ केजी ८०० ग्राम र प्लास्टिकबाहेक ५५७ केजी रहेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजा बरामद गरी आवश्यक मुचुल्का तयार गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।