सुर्खेतका दुई सामुदायिक वनबाट १४ थान भरुवा बन्दुक बरामद
सुर्खेत प्रहरीले जिल्लाका दुई वटा सामुदायिक वनबाट १४ थान भरुवा बन्दुक बरामद गरेको छ। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लगातार दुई दिनको खोजतलासका क्रममा ती हतियार बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कवीन्द्रसिंह बोहोराका अनुसार बिहीबार बेलुका बराहताल गाउँपालिका–७ स्याउलेस्थित पानीडाँडा सामुदायिक वनमा खोजतलास गर्दा आठ थान भरुवा बन्दुक फेला परेका थिए। तीमध्ये पाँच थान साबुत र तीन थान बेसाबुत रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, शुक्रबार सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित साजघारी सामुदायिक वनबाट थप छ थान भरुवा बन्दुक बरामद गरिएको बोहोराले जानकारी दिए। बरामद हतियारमध्ये चार थान साबुत र दुई थान बेसाबुत रहेका छन्।
सामुदायिक वनमा कसले र के प्रयोजनका लागि हतियार लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। यसअघि पनि सुर्खेतका विभिन्न जंगलबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको थियो।