एनपीएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिम–कर्णाली र चितवन–पोखरा भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।
खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्। चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हार बेहोरेको छ। प्लेअफ यात्रालाई थप बलियो बनाउन सुदूरपश्चिमलाई आजको खेल जित्नुपर्ने दबाब छ।
यता, तीन खेल खेलेको कर्णाली याक्सले एक जित र दुई हारसहित चार अंक जोडेको छ। आफ्नो चौथो खेल खेल्न लागेको कर्णाली पनि जित निकाल्दै अंक तालिकामा स्थान सुधार गर्ने योजनामा हुनेछ।
यसैगरी, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँडेको छ। तीन अंकसहित अंक तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको चितवनका लागि पनि आजको खेल महत्त्वपूर्ण छ। जित निकाल्दै टोली आफ्नो स्थान सुधार गर्न चाहन्छ।
अर्कोतर्फ, पोखरा एभेन्जर्स प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघिका खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको पोखरा आज चितवनलाई पराजित गर्दै जितको खाता खोल्ने लक्ष्यमा मैदान उत्रनेछ।
आज हुने दुवै खेलले एनपीएलको अंक तालिकामा महत्त्वपूर्ण प्रभाव पार्ने देखिएको छ। त्यसैले प्लेअफ दौडलाई बलियो बनाउने र प्रतियोगितामा जितको लय समात्ने लक्ष्यसहित चारवटै टोली प्रतिस्पर्धामा उत्रनेछन्।