दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता भएन, अध्ययनका लागि राखियो
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएका दानबहादुर कार्कीले दायर गर्न खोजेको रिट सर्वोच्च अदालतमा दर्ता हुन सकेन।
सरकारले बुधबार आफूलाई आईजीपीबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि कार्की उक्त निर्णयविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका थिए।
तर सर्वोच्च अदालत प्रशासनले रिट अध्ययन गर्न समय लाग्ने भन्दै बुधबार दर्ता नगरेको कार्कीनिकट अधिवक्ता टिकाबहादुर कुँवरले जानकारी दिएका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार डा. मनोजकुमार केसीले बुधबारदेखि नै नेपाल प्रहरीको प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।
कार्कीको रिट शुक्रबार दर्ता भएमा प्रारम्भिक सुनुवाइका लागि तिहार बिदापछि मात्रै पालो आउने देखिएको छ। त्यसैले सरकारले गरेको आईजीपी नियुक्तिसम्बन्धी निर्णयविरुद्धको कानुनी प्रक्रिया तत्काल अघि बढ्ने सम्भावना देखिएको छैन।