आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालतमा
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् ।
आफूमाथि अन्याय भएको दाबीसहित कार्कीले सरकारको निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दिएका हुन् । उनका कानुन व्यवसायीहरू रिट लिएर सर्वोच्च अदालत पुगे पनि प्रशासनिक प्रक्रिया पूरा भएपछि मात्रै रिट दर्ता हुने वा नहुने टुङ्गो लाग्नेछ ।
सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।
त्यस्तै, रिक्त प्रहरी महानिरीक्षक पदमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोजकुमार केसीलाई नियुक्त गरिएको थियो । सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्की कानुनी उपचारका लागि सर्वोच्च पुगेका हुन् ।