भोटेकोशी बाढीपछि बेपत्ता काभ्रेका ३५ जनाको विवरण स्वीकृत
काठमाडौं । गत भदौ १० गतेको रसुवा–भोटेकोशी बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३५ नागरिकको आधिकारिक विवरण स्वीकृत गरिएको छ ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले जिल्लाका १३ स्थानीय तहबाट सिफारिस भई आएका विवरणलाई अन्तिम रूप दिएको हो ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार स्वीकृत विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउने निर्णय गरिएको छ ।
त्यस्तै, बाढीमा परी मृत्यु तथा बेपत्ता भएका नागरिकका परिवारलाई सम्बन्धित स्थानीय तहमार्फत राहत उपलब्ध गराउने निर्णयसमेत भएको छ ।
प्रशासनका अनुसार बाढीमा परी काभ्रेका चार जनाको मृत्यु पुष्टि भएको छ भने बेपत्ता भएका चार जना परिवारको सम्पर्कमा आएका थिए । आधिकारिक विवरण प्रमाणीकरणपछि बेपत्ता नागरिकको कानुनी अवस्था निर्धारण गर्ने प्रक्रिया अघि बढ्नेछ ।