भक्तपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्प अगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्दै आएकी ५१ वर्षीया गीता तिमल्सिना रहेकी छन्।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ः३० बजे आँखा अस्पतालबाट बाटो काटेर लोकन्थलीतर्फ आउँदै गरेको बा.प्र.०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकल र जडीबुटीबाट लोकन्थलीतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ख ००४५ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी तिमल्सिनालाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल, कौशलटार लगिएको थियो। उपचारकै क्रममा बिहान ७ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
तिमल्सिना काठमाडौंको शंखरापुर नगरपालिकाको पशु सेवा शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ। मृतकको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल, दुवाकोट लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ट्रक चालक पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–८ निवासी ३० वर्षीय राजकुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।