रौतहटमा चाडपर्व सुरक्षा योजना लागू, ८९७ प्रहरी परिचालन गरिने
दसैँ, तिहार तथा छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालय रौतहटले विशेष चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । सम्भावित आपराधिक गतिविधि, चोरी, लुटपाट, ठगी तथा सवारी दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीसहित कुल ८९७ प्रहरी जनशक्ति परिचालन गर्ने तयारी गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमले प्रेस विज्ञप्ति जारी गर्दै चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण तथा नागरिकको सुरक्षाको प्रत्याभूति गर्न विशेष सुरक्षा योजना तयार पारिएको जानकारी दिएका छन् ।
प्रहरीका अनुसार जिल्लाका संवेदनशील क्षेत्र, मुख्य बजार, धार्मिक तथा सांस्कृतिक स्थल, मेला–जात्रा र भीडभाड हुने स्थानमा विशेष निगरानी गरिनेछ । यसका लागि पेट्रोल गस्ती, पिकेट, मोबाइल गस्ती, पैदल गस्ती, बजार अनुगमन, यात्रु सहायता कक्ष, ड्रोन निगरानी र स्वीप अपरेसनलगायत २० प्रकारका सुरक्षा गतिविधि सञ्चालन गरिनेछ ।
नागरिकको गुनासो तथा आपत्कालीन घटनामा तत्काल प्रहरी परिचालन गर्न जिल्लाका ३४ स्थानमा पिकेट र २० स्थानमा पैदल गस्ती टोली खटाइनेछ । त्यस्तै, संवेदनशील स्थानमा १४ वटा मोबाइल गस्ती परिचालन गरी सीसीटीभी क्यामेरा र ड्रोनको सहायताबाट २४ घण्टा निगरानी गरिने प्रहरीले जनाएको छ ।
चाडपर्वका समयमा बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र आर्थिक कारोबार बढी हुने क्षेत्रलाई विशेष सुरक्षा निगरानीमा राखिनेछ । चोरी, लुटपाट तथा अन्य आपराधिक घटना रोक्न विशेष प्रहरी टोली परिचालन गरिने योजना रहेको छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागि पनि प्रहरीले विशेष व्यवस्था गरेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा लापरवाहीपूर्वक सवारी सञ्चालन गर्ने प्रवृत्ति नियन्त्रण गर्न ट्राफिक प्रहरीसहित जिल्लाका १० स्थानमा संयुक्त चेकजाँच गरिनेछ ।
त्यसैगरी, चोरी, पाकेटमारी, लुटपाट र ठगी नियन्त्रणका साथै अदालतबाट फैसला भई फरार रहेका प्रतिवादी पक्राउ गर्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ । भारतबाट चाडपर्व मनाउन नेपाल आउने नागरिक लुटपाट तथा ठगीमा पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतीय सीमावर्ती प्रहरी इकाइसँग समन्वय गरिने प्रहरीले जनाएको छ । यात्रुको सहज आवागमनका लागि जिल्लाका पाँच स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना गरिनेछ ।
सीमावर्ती क्षेत्रमा पटाका तथा अन्य अवैध सामग्रीको ओसारपसार नियन्त्रण गर्न तालिमप्राप्त कुकुरसहित प्रहरी चेकजाँच गरिनेछ । सम्भावित अपराध तथा दुर्घटनाका जोखिमयुक्त क्षेत्र पहिचान गरी नियमित र आकस्मिक गस्तीलाई समेत तीव्रता दिइनेछ ।
मुख्य बजार, मेला, जात्रा, भीडभाड हुने स्थान तथा संवेदनशील क्षेत्रमा ड्रोन क्यामेरामार्फत निगरानी गरिनेछ । सार्वजनिक यातायातका यात्रु ठगी, चोरी तथा दुर्व्यवहारमा पर्न नदिन बसपार्क र प्रमुख यातायात केन्द्रमा प्रहरीको उपस्थिति बढाइनेछ ।
यसैगरी, सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह, उत्तेजनात्मक तथा भ्रमपूर्ण सूचनाको निगरानीका लागि २४ सै घण्टा प्रहरी परिचालन गरिनेछ । धार्मिक तथा सांस्कृतिक स्थलको सुरक्षा संवेदनशीलता मूल्याङ्कन गरी आवश्यकताअनुसार प्रहरी जनशक्ति खटाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई सभ्य, मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन आम नागरिक, व्यवसायी तथा सम्पूर्ण सरोकारवाला पक्षसँग सहयोग गर्न आग्रह गरेको छ ।