घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।
आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २ बजेर १५ मिनेटदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो। यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रूपमा गन्तव्यतर्फ लागेका छन्।
सडक एकतर्फी सञ्चालनमा रहेका बेला सवारीसाधनलाई लाम लगाएर आलोपालो गरी गन्तव्यतर्फ पठाइएको थियो।
नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार करिब ३५ मिटर माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो।
उनका अनुसार उक्त स्थानमा भित्तो काटिएको थिएन। माथिबाट आफैँ पहिरो खसेको हो। कमजोर भूगोलका कारण सो क्षेत्रमा जुनसुकै बेला पुनः पहिरो खस्न सक्ने जोखिम भने कायमै रहेको उनले बताएका छन्। सडक सञ्चालनमा आए पनि जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिएको छ।