विभिन्न जिल्लाबाट जुवातास खेलिरहेका २८ जना पक्राउ, १० लाखभन्दा बढी नगद बरामद
देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २८ जनालाई पक्राउ गरेको छ। काठमाडौं, बाँके, भक्तपुर र चितवनबाट उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ४९ वर्षीय सुनिल श्रेष्ठसहित नौ जनालाई पक्राउ गरिएको छ।
प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले उनीहरूलाई गएराति नगद ६ लाख ८५ हजार १९५ रुपैयाँ र नौ बुक ताससहित पक्राउ गरेको हो।
त्यस्तै, बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाइपासस्थित देवबहादुर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा घरधनी ४७ वर्षीय चन्दसहित सात जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले शनिबार दिउँसो उनीहरूलाई नगद एक लाख ७७ हजार ६०० रुपैयाँ र १० बुक ताससहित नियन्त्रणमा लिएको हो।
यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित वाङ्गेल लामाको टहरामा जुवातास खेलिरहेको अवस्थामा ४२ वर्षीय लामासहित छ जना पक्राउ परेका छन्। अस्थायी प्रहरी पोस्ट गुण्डुबाट खटिएको टोलीले शनिबार राति उनीहरूलाई नगद ७२ हजार ७५० रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
त्यस्तै, चितवनको खैरहनी नगरपालिका–१० जीवनपुर चोकमा जुवातास खेलिरहेको अवस्थामा ३१ वर्षीय अनिश पाठकसहित छ जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले शनिबार साँझ उनीहरूलाई नगद ७२ हजार ३०० रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो।
चारवटै घटनामा पक्राउ परेका २८ जनाको साथबाट कुल १० लाख ७ हजार ८४५ रुपैयाँ नगद र २१ बुक तास बरामद भएको छ। पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।