सुत्केरी बिदा ६ महिना पुर्याउन संसद्मा सार्वजनिक महत्वको प्रस्ताव
महिला कर्मचारी तथा श्रमिकका लागि हाल कायम ९८ दिनको सुत्केरी बिदा बढाएर ६ महिना पुर्याउनुपर्ने मागसहित प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी संवैधानिक अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने मागसहित विभिन्न दलका महिला सांसदहरूले प्रस्ताव दर्ता गराएका हुन्। नेपाली कांग्रेसकी सांसद सीता थपलिया प्रस्तावक रहेको प्रस्तावका समर्थकमा विभिन्न दलका सांसदहरू छन्।
प्रस्तावमा नेपालको संविधानको धारा ३८(२) ले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख छ। तर, हालको ९८ दिनको बिदा आमा र शिशुको स्वास्थ्य तथा हेरचाहका लागि पर्याप्त नभएको सांसदहरूको तर्क छ।
सरकारले शिशुलाई पहिलो ६ महिनासम्म आमाको दूध खुवाउने विषयलाई प्राथमिकता दिँदै आएको अवस्थामा आमालाई ९८ दिन मात्रै सुत्केरी बिदा दिने व्यवस्था व्यवहारिक नभएको प्रस्तावमा उल्लेख गरिएको छ।
कार्यक्रममा सहभागी स्वास्थ्य क्षेत्रका विज्ञ तथा अधिकारकर्मीहरूले पनि सुत्केरी बिदा बढाउनुपर्ने विषयमा धारणा राखेका छन्। उनीहरूले सुरक्षित मातृत्वको अधिकार सुनिश्चित गर्न कानुनी तथा नीतिगत व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।