कतारमा आईटीयू महासम्मेलनमा सहभागी भए सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना कतारको दोहामा आयोजित अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) महासम्मेलन २०२६ को उद्घाटन समारोहमा सहभागी भएका छन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दोहा पुगेका मन्त्री तिमिल्सिनाले सोमबार सम्मेलनमा विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन् ।
सम्मेलनका क्रममा उनले इरान र तान्जानियाका सञ्चारमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्दै आपसी हितका विषयमा छलफल गरेका थिए ।
त्यसैगरी, आईटीयूको रेडियोकम्युनिकेसन ब्युरोको निर्देशक पदका फ्रान्सेली उम्मेदवार एरिक फोर्नियरसँग पनि भेट गरी स्पेक्ट्रम तथा भूउपग्रह कक्ष व्यवस्थापनका विषयमा छलफल गरेका छन् ।