जबरजस्ती करणीको आरोपमा पाल्पा र कञ्चनपुरबाट चार जना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाल्पा र कञ्चनपुरबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाका एक र कञ्चनपुरका तीन जना रहेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पाल्पामा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ३८ वर्षीय होमबहादुर थापा मगर पक्राउ परेका छन् ।
तनहुँको भानु नगरपालिका–८ घर भई पाल्पाको तिनाउ गाउँपालिका–३ देउराली बस्दै आएका थापा मगरलाई आइतबार साँझ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले पक्राउ गरेको हो । पीडित किशोरीमाथि जबरजस्ती करणी भएको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, कञ्चनपुरमा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–१ का २१ वर्षीय विशाल सुनार, १९ वर्षीय सुवास बलायर र २१ वर्षीय प्रकाश बलायर रहेका छन् ।
उनीहरूलाई पनि आइतबार साँझ इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।