सेनेगलको तटनजिक आप्रवासी बोकेको डुङ्गा दुर्घटना, ३४ जनाको मृत्यु
पश्चिम अफ्रिकी मुलुक सेनेगलको तटनजिक आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जनाको जीवितै उद्धार गरिएको छ भने अन्य यात्रुको अवस्थाबारे अझै यकिन हुन सकेको छैन ।
सेनेगलको समाचार एजेन्सी एपीएसका अनुसार राजधानी डकार र उत्तरी सहर सेन्ट लुइसको बीचमा काठबाट बनेको सानो डुङ्गा दुर्घटनामा परेको हो । उक्त डुङ्गा स्पेनको क्यानरी टापुतर्फ गइरहेको बताइएको छ ।
सेनेगलको गृह मन्त्रालयले दुर्घटनामा एक जनाको उद्धार गरिएको पुष्टि गरेको छ । तर डुङ्गामा कति जना सवार थिए र कति जना बेपत्ता छन् भन्ने विवरण सार्वजनिक भएको छैन ।
आप्रवासी अधिकारका लागि काम गर्ने स्पेनी संस्था ‘वाकिङ बोर्डर्स’का अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म अटलान्टिक समुद्री मार्ग हुँदै क्यानरी टापु पुग्ने क्रममा ६३५ जनाको मृत्यु भएको थियो । संस्थाले निगरानी गर्ने विभिन्न समुद्री मार्गमध्ये यही मार्ग सबैभन्दा जोखिमपूर्ण देखिएको छ ।
सेनेगलका आप्रवासीलाई सहयोग गर्दै आएको संस्था ‘बोजा फे’का संस्थापक सालिउ दियुफले अहिलेसम्म फेला परेका सबै शव सेनेगलका नागरिकको भएको बताएका छन् । डुङ्गामा सवार अन्य व्यक्तिको राष्ट्रियता भने खुलेको छैन ।
घटनापछि समुद्रमा हराइरहेका यात्रुको खोजी तथा उद्धार अभियान जारी रहेको छ । सेनेगलका राष्ट्रपति बासिरु दियोमाये फायेले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
उनले नागरिकलाई जोखिमपूर्ण समुद्री मार्ग प्रयोग गरेर आफ्नो ज्यान खतरामा नपार्न आग्रह गरेका छन् ।