नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
नुवाकोटमा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा तीन जनाको ज्यान गएको हो।
प्रहरीका अनुसार सोमबार बिहान १० बजेर ५५ मिनेटमा बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खसेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल विदुर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापामगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लगिएको थियो। उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।