कपिलवस्तुमा बसको ठक्करबाट ७७ वर्षीय वृद्धको मृत्यु
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट ७७ वर्षीय वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय लखन अहिर रहेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालका अनुसार तौलिहवाबाट बहादुरगञ्जतर्फ जाँदै गरेको लु १ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा पैदल हिँडिरहेका अहिरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका अहिरलाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा पुर्याइएको थियो। तर, अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीले ठक्कर दिने बस नियन्त्रणमा लिएको छ भने बसका चालक फरार रहेका छन्। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।