घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डको घोप्टेभीरमा खसेको ठूलो सुख्खा पहिरो हटाइएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार निरन्तरको प्रयासपछि पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको हो।
सोमबार बिहान खसेको पहिरोका कारण उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। विभागका अनुसार चेनज ७९+२०० स्थित घोप्टेभीरमा खसेको पहिरो हटाउन पाँचवटा मेसिन प्रयोग गरिएको थियो।
पहिरो हटाइएसँगै अहिले उक्त सडक खण्डमा सवारीसाधन दुवैतर्फबाट आवतजावत गर्न थालेका छन्।