रुकुम पश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परेका दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
सोमबार बिहान आठबिसकोट नगरपालिका–५ थापागाउँबाट नयाँडाँडातर्फ जाँदै गरेको भे १ च ३११२ नम्बरको जिप दुर्घटनामा परेको थियो। अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको जिपमा सवार यात्रुहरू घाइते भएका हुन्।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ भने केहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत पठाइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।