एनपीएलमा पोखराको शानदार जित, कर्णाली याक्स ६३ रनले पराजित
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा पोखराले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।
पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णालीले १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १५४ रन मात्रै बनाउन सक्यो। कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाए। त्यस्तै, आरिफुल इस्लामले २४, दीपक डुम्रेले २२ र सोमपाल कामीले २१ रन जोडे।
पोखराका मेहदी हसनले तीन विकेट लिए भने धनञ्जय लक्षण, कुशल भुर्तेल र विपिन खत्रीले समान दुई विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले तीन विकेटको क्षतिमा २१७ रन बनाएको थियो। पोखराका युवराज सम्राले आक्रामक शतकीय पारी खेल्दै ४८ बलमा १०२ रन बनाए। उनले १० चौका र ६ छक्का प्रहार गरे। त्यस्तै, कुशलले ३९ बलमा सात छक्कासहित ६२ रनको योगदान दिए।
कर्णालीका सोमपाल कामीले दुई तथा मार्क वाटले एक विकेट लिए।
यस जितसँगै पोखराले जारी लिगमा पाँचौँ खेलमा पहिलो जित निकालेको छ। यसअघि खेलेका चारवटै खेलमा पराजित भएको पोखरा जितपछि पनि अंक तालिकाको पुछारमै रहेको छ।