देशका विभिन्न जिल्लाबाट जुवातास खेल्ने १०७ जना पक्राउ, २३ लाखभन्दा बढी बरामद
देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट २३ लाख ८ हजार ५०९ रुपैयाँ नगद, तास र कौडा बरामद गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सुर्खेत, ललितपुर, काभ्रे, धनुषा र सर्लाहीका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगरका चार स्थानबाट ४१ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १० लाख ८७ हजार ५२० रुपैयाँ र १३ बुक तास बरामद भएको छ ।
त्यस्तै, ललितपुरको गोदावरीबाट ११ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १ लाख ९९ हजार २० रुपैयाँ र पाँच बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।
काभ्रेको पाँचखाल नगरपालिका–७ स्थित सार्वजनिक प्रतीक्षालयबाट ११ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ६१ हजार ५९० रुपैयाँ, १६ थान कौडा र एक बुक तास बरामद भएको छ ।
यसैगरी, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित साजन टेन्ट हाउसबाट १८ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १ लाख ६१ हजार ६४४ रुपैयाँ र तीन बुक तास बरामद भएको छ ।
सर्लाहीको मलंगवा नगरपालिका–८ बाट नौ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ६ लाख ७८ हजार ५६० रुपैयाँ र चार बुक तास बरामद भएको छ ।
त्यस्तै, ब्रह्मपुरी गाउँपालिका–१ बाट १७ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट तीन लाख २० हजार १७५ रुपैयाँ र चार बुक तास बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।