अमेरिकामा ट्रम्प प्रशासनमाथि अनुसन्धान गर्ने डेमोक्रेटहरूको चेतावनी, राजनीतिक तनाव बढ्यो
काठमाडौं– अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबीच राजनीतिक टकराव बढेको छ ।
कङ्ग्रेसका दुवै सदनका समितिमा नियन्त्रण पाउने डेमोक्रेटहरूले ट्रम्प प्रशासनका उच्च अधिकारी तथा सरकारका विभिन्न निर्णयमाथि अनुसन्धान गर्ने चेतावनी दिएका छन् ।
डेमोक्रेटहरूले ट्रम्प परिवारको व्यापार तथा क्रिप्टोकरेन्सी कारोबार, अर्बपति एलन मस्कसँग सम्बन्धित सरकारी सम्झौता, आप्रवासन नीति र इरान युद्ध सञ्चालनलगायत विषयमा अनुसन्धान अघि बढाउने तयारी गरेका छन् । उनीहरूले सरकारी अधिकारीलाई बयानका लागि बोलाउने र सार्वजनिक सुनुवाइ गर्ने अधिकारसमेत पाउनेछन् ।
निर्वाचन परिणामपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत यसलाई अमेरिकाका लागि ठूलो धक्का भएको बताएका छन् । उनले आफूहरू अझ बलियो भएर फर्किने दाबी गर्दै डेमोक्रेटहरूले प्रशासनका सदस्यविरुद्ध महाभियोगको चेतावनी दिनुलाई दबाब सिर्जना गर्ने प्रयास भनेका छन् ।
यसैबीच, ट्रम्पले आप्रवासन नीतिका योजनाकार स्टेफन मिलरलाई नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन् । उपराष्ट्रपति जेडी भान्ससहित केही रिपब्लिकन नेताहरूले भने निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको समीक्षा गर्नुपर्ने बताएका छन् ।
डेमोक्रेटिक नेता हाकिम जेफ्रीजले इरान युद्ध सञ्चालनमा लापरबाही गरेको र राष्ट्रिय सुरक्षा कमजोर बनाएको आरोप लगाउँदै रक्षामन्त्री पीट हेगसेथविरुद्ध महाभियोग प्रस्तावको समर्थन गरेका छन् । ट्रम्पले भने हेगसेथको बचाउ गर्दै भेनेजुएला र इरानसँगका युद्धमा अमेरिकाले सफलता हासिल गरेको दाबी गरेका छन् ।
अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चेले प्रशासनका अधिकारीमाथि अनुसन्धान वा कारबाहीको प्रयास भए न्याय मन्त्रालयले उनीहरूको बचाउ गर्ने बताएका छन् ।
यता, प्रतिनिधिसभाको निगरानी समितिका वरिष्ठ डेमोक्रेटिक सदस्य रोबर्ट गार्सियाले कार्यकारी शाखालाई जवाफदेही बनाउनु कङ्ग्रेसको संवैधानिक दायित्व भएको बताएका छन् । उनले भ्रष्टाचार र अमेरिकी जनताविरुद्ध भएका भनिएका अपराधको अनुसन्धानबाट पछि नहट्ने स्पष्ट पारेका छन् ।