रास्वपाले ‘राइट टु रिकल’का लागि ११ सदस्यीय समिति गठन गर्यो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माणका लागि ११ सदस्यीय समिति गठन गरेको छ।
पार्टी महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा गठन गरिएको समितिलाई ‘राइट टु रिकल’सम्बन्धी अध्ययन तथा छलफल गरी पार्टीको धारणा र प्रस्तावलाई दस्तावेजका रूपमा तयार गर्ने जिम्मेवारी दिइएको छ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार समिति गठन भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार गरिएको हो।
आइतबार बसेको रास्वपा सचिवालय बैठकमा भोटेकोशी बाढीपछिको खोज तथा उद्धार, राहतलगायत विषयमा पनि छलफल भएको प्रवक्ता खरेलले बताएका छन्।
बैठकमा पार्टी र सरकारबीचको समन्वय तथा सामाजिक सञ्जालमा हुने गालीगलौज र साइबर अपराधका विषयमा समेत छलफल भएको जनाइएको छ।