एनपीएलमा आज लुम्बिनी–चितवन र विराटनगर–सुदूरपश्चिम भिड्दै
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।
यस्तै, आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। उक्त खेल अपराह्न साढे ४ बजे सुरु हुने तालिका छ।
तर, काठमाडौंमा दुई दिनदेखि लगातार वर्षा भइरहेकाले आजका दुवै खेल प्रभावित हुने सम्भावना छ।
जारी लिगमा लुम्बिनी र चितवनले एक–एक खेलमा जित निकालेका छन्। विराटनगर भने खेलेका दुवै खेलमा पराजित भएको छ। यस्तै, सुदूरपश्चिमले दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ।