एनपीएलमा आज जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दा दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुर आज पहिलो जितको खोजीमा मैदान उत्रनेछ। काठमाडौं भने तेस्रो सिजनको आफ्नो पहिलो खेल खेल्दै विजयी सुरुवात गर्ने लक्ष्यमा हुनेछ।
पहिलो खेलमा १३३ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट भएको थियो। जनकपुरको कप्तानी अमेरिकी बलिङ अलराउन्डर हर्मित सिंहले गरिरहेका छन् भने काठमाडौंको नेतृत्व करण केसीले गर्नेछन्।
त्यस्तै, आजको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। उक्त खेल साँझ ४ः३० बजे सुरु हुनेछ।
पहिलो खेलमा जनकपुरलाई १९ रनले हराएको कर्णाली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। विराटनगर भने पोखरा एभेन्जर्ससँग आठ रनले पराजित भएकाले आजको खेल जित्दै प्रतियोगितामा पुनरागमन गर्न चाहन्छ।
विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन्। दुवै टोलीका लागि आजको खेल अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसरका रूपमा रहनेछ।