सुर्खेतमा चिरपट प्रहारबाट एक जनाको मृत्यु, एक जना पक्राउ
सुर्खेतमा चिरपट (दाउरा) प्रहारबाट घाइते भएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–८, सुन्दरनगरका ६२ वर्षीय मानबहादुर राजी रहेका छन्।
प्रहरीका अनुसार सोही ठाउँका ४० वर्षीय ‘मैते’ भन्ने टेकबहादुर विकले गएराति करिब ११ बजे राजीमाथि चिरपट प्रहार गरेका थिए। विकले राजीको टाउको र बायाँ खुट्टामा प्रहार गर्दा उनी घाइते भएका थिए।
घाइते राजीलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। त्यहाँ उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो। तर, त्यहाँ पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार घटनामा संलग्न रहेको आरोपमा टेकबहादुर विकलाई पक्राउ गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।