एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ।
आज प्रतियोगितामा एकमात्र खेल हुने तालिका रहेको छ। पोखरा एभेन्जर्सले आजको खेलसँगै प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दैछ भने सुदूरपश्चिम रोयल्स दोस्रो खेल खेल्न मैदान उत्रनेछ।
सुदूरपश्चिमले प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो। त्यसैले आजको खेलमा टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।
पहिलो खेल खेल्न लागेको पोखरा एभेन्जर्स पनि जितसहित प्रतियोगिताको सुरुआत गर्ने योजनामा हुनेछ। दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।