एनपीएलमा चितवन राइनोजको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा समेटियो। विराटनगरका इमरान शेखले ३९, आन्द्रे रसेलले ३३ र लोकेश बमले २६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। कप्तान सन्दीप लामिछाने, प्रतिश जिसी र रुपेश सिंह शून्यमा आउट भए।
चितवनका कमलसिंह ऐरीले सर्वाधिक चार विकेट लिए। रिजन ढकालले दुई तथा रञ्जन कुमार, टम टेलर, डान मुस्ले र मौसम ढकालले समान एक विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो।
चितवनका डाविड मलानले सर्वाधिक ७० रन बनाए। ५० बल खेलेका उनले पाँच चौका र पाँच छक्का प्रहार गरे। कप्तान रवि बोपाराले ३२ र डान मुस्लेले २९ रनको योगदान दिए।
विराटनगरका एन्जेलो म्याथ्युज, चरिथ असलंका र आन्द्रे रसेलले समान एक विकेट लिए। यस जितसँगै चितवनले एनपीएलको सुरुवात जितबाट गरेको छ।