प्रधानमन्त्री शाहले उद्घाटन गर्ने एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदै
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने भएका छन्।
यसअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटको सफलताको कामना गर्दै ‘नेपाली क्रिकेट अमर रहोस्’ भन्ने शुभकामना व्यक्त गरेका थिए।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा आज अपराह्न ५ बजे प्रतियोगिता सुरु हुनेछ। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्समा रुबेन ट्रम्पलम्यान, सन्दीप जोरा, शेर मल्ल, डार्सी सर्ट, शमिम हुसेन, शाड्ली भान शाकवाइक र निरोशन डिक्वेलाजस्ता खेलाडी छन्। टोलीमा दिनेश अधिकारी, अभिषेक गौतम, तिलक राज भण्डारी, दिलिप नाथ, आसिफ शेख, किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यादव, अजय चौहान र करण घर्ती मगर पनि समावेश छन्।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा इशान पाण्डे, अविनाश बोहोरा, आरिफ शेख, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन, विनोद भण्डारी र हेमन्त धामी रहेका छन्।
टोलीमा हिक्मत महरा, हैदर अली, मिलन बोहरा, टेकबहादुर रावत, अनिल खरेल, सचिन भट्ट, शेरफन रदरफोर्ड, टेकराज थलाल, आयुव चन्द, दीपक बोहरा र फेबियन एलेनजस्ता खेलाडी पनि छन्।
करिब एक महिनासम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
एनपीएलले नेपाली क्रिकेटको व्यावसायिक विकास, घरेलु खेलाडीको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय खेलाडीमार्फत नेपाली क्रिकेटको पहिचान विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।