खोटाङमा धारिलो हतियार प्रहारबाट श्रीमतीसहित चारजना घाइते, एक जना पक्राउ
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट चारजना घाइते भएका छन्। स्थानीय ४३ वर्षीय नइन्द्र कुमार राईले आफ्नै ससुरालीमा पुगेर धारिलो हतियार प्रहार गर्दा उनकी श्रीमतीसहित चारजना घाइते भएका हुन्।
घटनामा हलेसी तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया अन्जना राईको टाउकोको पछाडिको भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको जनाइएको छ।
त्यस्तै, ६२ वर्षीया स्यामाउन राईको टाउको तथा दाहिने हातमा चोट लागेको छ। उनको अवस्था पनि गम्भीर रहेको छ। २५ वर्षीया तेनिना राईको टाउकोमा चोट लागेकाले उनको अवस्था गम्भीर रहेको छ भने नरेन्द्र राईको दाहिने हातमा चोट लागेको र अवस्था मध्यम रहेको छ।
घाइते चारैजनालाई उपचारका लागि नगर अस्पताल दुर्छिम लगिएको छ। उनीहरूको उपचार भइरहेको जनाइएको छ।
धारिलो हतियार प्रहार गरेको आरोपमा नइन्द्र कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।