पोखरामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
पोखरामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–२९ स्थित आदर्शचोकमा मोटरसाइकलको ठक्करबाट ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको हो।
प्रहरीका अनुसार तालचोकबाट पावर हाउसतर्फ जाँदै गरेको ग २४ प १६३५ नम्बरको मोटरसाइकलले जेब्राक्रसबाट सडक पार गरिरहेका शर्मालाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि पश्चिमाञ्चल अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।