इटहरीमा जुवा खेलिरहेको अवस्थामा आठ जना पक्राउ
सुनसरी । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा चार लाख ५६ हजार रुपैयाँ नगदसहित आठ जना पक्राउ परेका छन्।
इटहरी उपमहानगरपालिका–४ स्थित शान्तिचोकको द इस्टन होटलमा आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले होटलमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट चार लाख ५६ हजार रुपैयाँ नगद र जुवाखालमा प्रयोग भइरहेको सात बुङ तास बरामद गरेको छ। पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।