चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु
काठमाडौंको चोभारडाँडास्थित ऐतिहासिक आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमादेखि सुरु हुने मेलामा काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा भक्तजन सहभागी भएका छन्।
कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने यस मेलामा हिन्दू तथा बौद्ध धर्मावलम्बीले मन्दिरमा पुगेर पूजाआजा गर्ने परम्परा छ। लिच्छवीकालीन मानिने आदिनाथ मन्दिर ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्वको सम्पदाका रूपमा परिचित छ।
मन्दिरमा शिव र पार्वतीको संयुक्त स्वरूप झल्काउने मूर्ति रहेकाले यसलाई अर्धनारीश्वर तथा आदिनाथ मन्दिरका रूपमा चिनिन्छ। हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले साझा आस्थाको केन्द्रका रूपमा यस मन्दिरमा पूजाआजा गर्दै आएका छन्।
मेलामा सहभागी हुँदा छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने जनविश्वास छ। त्यस्तै, मन्दिरको दर्शन र पूजाअर्चना गरेमा भय, रोग तथा विघ्नबाधाबाट छुटकारा पाई पारिवारिक सुख र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
बौद्ध धर्मावलम्बीले मन्दिरमा करुणाका प्रतीक लोकेश्वरका रूपमा पूजा गर्ने परम्परा छ। लामो आयु प्राप्त हुने, अकाल मृत्युबाट जोगिने तथा धनसम्पत्ति वृद्धि हुने विश्वासका साथ उनीहरूले पूजाअर्चना गर्छन्। हिन्दू धर्मावलम्बीले भने आदिनाथलाई शिवशक्तिका रूपमा आराधना गर्ने चलन छ।
काठमाडौं उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिने चोभार क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्त्वपूर्ण मानिन्छ। मन्दिरको आसपासमा मञ्जुश्री पार्क, जलविनायक मन्दिर र टौदहजस्ता धार्मिक तथा पर्यटकीय स्थल रहेका छन्।
पौराणिक कथनअनुसार कुनै समय काठमाडौं उपत्यका विशाल दहका रूपमा रहेको थियो। मञ्जुश्रीले आफ्नो खड्ग प्रहार गरी पानी निकास गराएको विश्वास गरिने चोभार गल्छी पनि यही क्षेत्रमा अवस्थित छ।
धार्मिक आस्था, ऐतिहासिक सम्पदा र सांस्कृतिक परम्पराको संगमका रूपमा रहेको आदिनाथ मन्दिरको एकमहिने मेलाले चोभार क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्त्वलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।