बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै
काठमाडौंको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सर्वसाधारणका लागि सञ्चालनमा आउने भएको छ। सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै निर्माण गरिएको पुल सञ्चालनको अन्तिम तयारी भइरहेको हो।
सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार पुल निर्माणको भौतिक प्रगति अन्तिम चरणमा पुगेको छ। केही दिनभित्रै पैदलयात्रुका लागि पुल खुला गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ।
सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख सुबोध देवकोटाले पुल यसै हप्ताभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए।
बबरमहल क्षेत्रमा सवारीसाधनको चाप र पैदलयात्रुको आवागमन बढी हुने भएकाले सडक पार गर्न सहज बनाउने उद्देश्यले आकाशे पुल निर्माण गरिएको हो। पुल सञ्चालनमा आएपछि पैदलयात्रुलाई सुरक्षित रूपमा सडक पार गर्न सहज हुनुका साथै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उक्त पुल निर्माणका लागि २०८२ साल फागुन २१ गते सम्झौता भई काम सुरु गरिएको थियो। पुल निर्माणको लागत दुई करोड ५२ लाख ४५ हजार ९५३ रुपैयाँ निर्धारण गरिएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ।
पुल निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वक्र्स प्रालिले पाएको हो। पुल सञ्चालनमा आएपछि बबरमहल क्षेत्रमा पैदलयात्रुको आवागमन व्यवस्थित हुनुका साथै व्यस्त सडकमा हुने जोखिम कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।