प्रहरीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा पर्साबाट एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पोखरिया नगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार वर्णवाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वर्णवालले आफू दुवै सुरक्षा निकायका सुरक्षाकर्मीसँग राम्रो चिनजान भएको भन्दै भन्सार छली तथा चोरी–तस्करीका सामान सहजै पास गराइदिने आश्वासन दिने गरेका थिए।
सामान पास गराउन रकम नदिए पक्राउ गराइदिने धम्की दिँदै रकम असुल्ने तथा बिचौलियाको काम गर्ने गरेको सूचनाका आधारमा उनलाई गत कात्तिक ६ गते पोखरिया नगरपालिका–५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वर्णवालले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको विषयमा समेत अनुसन्धान भइरहेको छ।
पक्राउ परेका वर्णवालमाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।