डेभिड मलान फेरि चितवन राइनोजबाट खेल्दै, विराटनगरविरुद्ध मैदान उत्रिने
इङ्ग्ल्याण्डका अनुभवी क्रिकेटर डेभिड मलान नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजबाट खेल्ने भएका छन्। चितवनले उनलाई पुनः टोलीमा आबद्ध गरेको हो।
चितवन राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार मलान मंगलबार विराटनगर किङ्ग्सविरुद्धको खेलमा मैदान उत्रिनेछन्। उनले गत संस्करणको एनपीएलमा पनि चितवनबाट खेलेका थिए।
बायाँहाते ब्याटर मलान अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी हुन्। उनले टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाइसकेका छन्। सन् २०२२ मा इङ्ग्ल्याण्डले टी–२० विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए। उनी आईसीसीको टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा शीर्ष स्थानमा समेत पुगिसकेका छन्।
एनपीएलको पहिलो संस्करणमा चौथो स्थान हासिल गरेको चितवन राइनोज दोस्रो संस्करणमा सातौँ भएको थियो। मलानको पुनरागमनसँगै टोलीले यस सिजन आफ्नो प्रदर्शन सुधार्ने अपेक्षा गरेको छ।