मन्त्री महावीर पुनद्वारा बेनी बजारबाट म्याग्दीको सदरमुकाम सार्ने प्रस्ताव
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बाढीपहिरो र नदी कटानको उच्च जोखिममा रहेको म्याग्दीको सदरमुकाम बेनी बजारलाई सुरक्षित स्थानमा सार्ने प्रस्ताव गरेका छन्।
शुक्रबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँग भएको छलफलमा मन्त्री पुनले बेनी बजारको संरक्षण गर्ने वा सदरमुकाम नै स्थानान्तरण गर्ने भन्ने विषयमा छलफल गर्नुपर्ने बताएका हुन्।
असोज ८ देखि ११ गतेसम्मको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले बेनी नगरपालिका–८ गणेशटोल क्षेत्रमा निर्माण गरिएको पक्की तटबन्ध भत्काएको छ। बजारनजिकको भिरालो जमिनसमेत चर्किएर पहिरो खस्न थालेपछि जोखिम बढेको छ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सदरमुकामलाई सुरक्षित बनाउन सङ्घीय र प्रदेश सरकारसँग सहयोग मागेका छन्। मन्त्री पुनले बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनःस्थापनाका लागि तीनै तहका सरकारबीच सहकार्य भइरहेको बताउँदै तथ्याङ्क सङ्कलन र समन्वय गर्न आग्रह गरेका छन्।
उनका अनुसार विपद् प्रभावित स्थानीय तहलाई पहिलो चरणमा २० लाख, ३० लाख र ४० लाख रुपैयाँका दरले बजेट उपलब्ध गराउने निर्णय भइसकेको छ।