रानीपोखरीमा एक जनाको शव फेला
काठमाडौंको रानीपोखरीमा एक जना पुरुषको शव फेला परेको छ। बुधबार साँझ करिब साढे ७ बजे ३५ देखि ४० वर्ष उमेरका देखिने पुरुषको शव पोखरीभित्र फेला परेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन। पोखरीको किनारमा उनको कपडा भेटिए पनि त्यसमा पहिचान खुल्ने कुनै कागजात फेला नपरेको उनले जानकारी दिए।
प्रहरीले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ। सीसीटीभी फुटेजको प्रारम्भिक अवलोकन गर्दा ती पुरुष पौडी खेल्दै रानीपोखरीको बीच भागतर्फ गएको देखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त दरबारमार्गले गरिरहेको छ। मृतकको पहिचान तथा घटनाको वास्तविक कारण खुल्न बाँकी छ।