भरतपुर विमानस्थलको सरसफाइ र व्यवस्थापन सुधार्न प्रशासनको निर्देशन
चितवनको भरतपुर विमानस्थल परिसरमा सरसफाइ र व्यवस्थापन कमजोर भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरी सम्बन्धित कार्यालयलाई सुधार गर्न निर्देशन दिएको छ।
विमानस्थलका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाइ नभएको, पार्किङ तथा पूर्वाधार व्यवस्थापनमा समस्या रहेको र कर्मचारी नियमित उपस्थित नहुनेजस्ता गुनासो आएपछि अनुगमन गरिएको हो।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रूपमा अनुगमन गरेका थिए। अनुगमनपछि विमानस्थलका कार्यालय प्रमुख दीपक विकलाई तत्काल कमजोरी सुधार गर्न निर्देशन दिइएको प्रजिअ अर्यालले बताए।
कार्यालय प्रमुख विकले देखिएका कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता जनाउँदै अनुगमनपछि सुधारका काम सुरु गरिएको जानकारी दिएका छन्। भरतपुर विमानस्थलबाट दैनिक करिब ८०० यात्रुले आवतजावत गर्दै आएका छन्।