चौथो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने प्रारम्भिक अनुमान
राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ४ प्रतिशत रहने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ।
कार्यालयका अनुसार मौसमी प्रभाव समायोजित तथ्याङ्कमा तेस्रो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकमा अर्थतन्त्र १.५४ प्रतिशतले विस्तार भएको छ। समीक्षा अवधिमा अध्ययन गरिएका १८ औद्योगिक क्षेत्रमध्ये १७ वटामा सकारात्मक वृद्धि देखिएको छ भने सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा सामान्य गिरावट आएको छ।
क्षेत्रगत रूपमा विद्युत् तथा ग्यास क्षेत्रमा सबैभन्दा बढी २४.३६ प्रतिशत वृद्धि भएको छ। वित्तीय तथा बीमा क्षेत्रमा ९.०७ प्रतिशत, आवास तथा भोजन सेवामा ७.८४ प्रतिशत र सूचना तथा सञ्चार क्षेत्रमा ७.६६ प्रतिशत वृद्धि भएको कार्यालयले जनाएको छ।
अर्थतन्त्रमा ठूलो योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रमा भने वृद्धिदर १.३५ प्रतिशतमा सीमित भएको छ। औद्योगिक उत्पादनमा १.४४ प्रतिशत वृद्धि देखिए पनि अघिल्लो त्रैमासिकको तुलनामा चौथो त्रैमासिकमा यस क्षेत्रमा ०.४८ प्रतिशतको गिरावट आएको छ।